आँचल र विवेकले गरे ‘कन्या पूजा’

...

काठमाडौँ । कृष्ण जन्माष्टमीको अवसर पारेर सोमबार बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए । ‘कन्या पुजा सनातन गुठी’ले हरेक बर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

दश हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा फिल्म ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरे ।
सो अवसरमा फिल्मका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए । हरेक बर्ष आयोजना हुने ‘कन्या पूजा’मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको नायिका आँचल शर्माले बताइन् । करिब एक घन्टा भन्दा बढी समय कन्याहरुलाई कापी र विस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन् । यस्तै, फिल्मका नायक विवेक कर्मचार्यले आफूले विगत ४ बर्षदेखि निरन्तर रुपमा ‘कन्या पूजा’मा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए ।

भदौको १४ गते अर्थात शुक्रबारदेखि रिलिजमा आउन लागेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जानुका थापाको लगानी रहेको फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको ट्रेलर र गीतसंगीतलाई दर्शकले रुचाएका कारण पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माणटिमको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्या पूजा’को अवसरमा फिल्मको निर्माण टिमले १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।