चलचित्र ‘राजागंजः पूजा, सर’को टिजर सार्वजनिक

...

काठमाडौँ । नयाँ चलचित्र ‘राजागंजः पूजा, सर’को टिजर सार्वजनिक भएको छ । चलचित्रको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन् । यो चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका हुन्। ।

चलचित्रको टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन् । चलचित्रमा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।

निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो निर्देशकिय फिचर सिनेमा हो । भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको चलचित्रको प्रिमियरअघि नै विभिन्न देशमा चलचित्रको वितरण अधिकार पनि बिक्री भैसकेको निर्माण टिमले जानकारी दिएको छ । विभिन्न अर्न्तराष्ट्रिय महोत्सव र हल रिलिज अघि नै चलचित्रको विभिन्न देशको राइट बिक्री भएपछि निर्देशक रौनियारले खुसी व्यक्त गरेका छन् ।

फ्रान्स प्रदर्शनका लागि एआरपी सेलेक्सन कम्पनीले चलचित्रको राइट किनेको छ । एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित चलचित्र ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’ लगायतका सिनेमा वितरण गरेको छ । चलचित्रको स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोन प्रदर्शन अधिकार किनेको छ ।

निर्देशक रौनियारको पहिलो फिचर सिनेमा ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । अर्को सिनेमा ‘ह्वाइट सन्’ सन् २०१६ मा भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर सिनेमा महोत्सवमा प्रदर्शन हुनका साथै पुरस्कृत समेत भएको थियो । उनको छोटो सिनेमा ‘फोर नाइट्स’ सन् २०२२ मा बर्लिनेल सट्र्समा प्रिमियर भएको थियो ।

‘राजागंज स् पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदैछ । सोही दिन निर्देशक रौनियारको जन्मदिन समेत हो । भेनिस प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती सहितका केही दिनमा कलाकार इटाली जाँदैछन् ।

यो चलचित्रले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ । यो चलचित्रको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।