चलचित्र ‘मायावी’ कात्तिक १५ मा प्रदर्शन हुने

...

काठमाडौँ । चलचित्र ‘मायावी’ तिहारको अवसर पारेर आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । दिवाकर भट्टराई निर्देशित यो चलचित्रमा मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी चलचित्रमा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।

पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही चलचित्रबाट डेब्यु गर्दै छन् ।

चलचित्रका निर्माता राज कटुवाल,चन्द्र पन्त र ध्रुव प्रसाद न्यौपाने हुन् । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र सुमित ओली छन् ।

क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ । निर्देशक भट्टराई स्वयंको लेखन रहेको चलचित्रको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।

यसैगरी सोही दिन लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टर’ पनि रिलिज हुँदै छ । नाम चलेका दुई कलाकारको फिल्म एकै मितिमा आउने निश्चित भएपछि दशैंजस्तै तिहारको बक्स अफिस भिडन्त पनि रोचक हुने देखिएको छ ।