‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुकले बढाएको चर्चा

...

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै चर्चा बढ्न थालेको छ । पोस्टरमा चलत्रिचका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ ।

त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको संकेत गरिरहेको छ । प्रकाश र विजयको खुसीले उनीहरु एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन ।

पोस्टर सार्वजनिकसँगै नेपाली चलचित्र क्षेत्रमा चर्चा बढ्न थालेको छ । चलचित्रले उठाएको कथा बस्तुबारे पनि चर्चा बढेको छ । सामाजिक सन्जालमा पोस्टर सेयर गर्दै धेरै फिल्म मेकरहरुले पनि तारिफ गरिरहेका छन् ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् । यो चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

शिवराम श्रेष्ठ छायाँकार रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यस्तै, फिल्ममा सुरेन्द्र पौडेको सम्पादन, सुप्रीम पराजुलीको कलर, उत्तम न्यौपानेको साउण्ड मिक्सीङ, दिनेश बहादु रावतको सह निर्देशन, रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ ।

कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुने यो चलचित्रलाई सेभेन सिज इन्टरटेनमेन्टले नै विश्वभर प्रदर्शन गराउने भएको छ ।