‘दुखी आत्मा’ मा अनुपविक्रम अनुबन्धित, भदौ २४बाट सुटिङ हुने

...

काठमाडौँ । निर्माण क्रममै चर्चा रहेको चलचित्र ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित् भएका छन् । भदौ २४ बाट सुटिङ सुरु गर्न लागिएको चलचित्रमा केही समयअघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित् भइसकेका थिए । कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।

क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको चलचित्र आलोक शुक्लाले खिच्ने छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’ मा सँगै अभिनय गर्न लागेका हुन् ।

काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको चलचित्रमा दयाहाङ,आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहने छ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्नेछ ।