दर्शकको प्रतिक्रियाबाट खुसी आँचल शर्मा

...

काठमाडौँ । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘वर एण्ड वधु’मा दर्शकले दिएको साथबाट अभिनेत्री आँचल शर्मा खुसी देखिएकी छिन् । शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए । हलहरुमा पुग्नेक्रममा मिडियासँग कुरा गर्दै आँचलले दर्शकको प्रत्यक्ष प्रतिक्रियाबाट आफूहरु निकै खुसी भएको बताइन् । उनले भनिन्–‘फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले उत्साहित छु ।’

यता, नायक विवेक कर्माचार्यले पहिले फिल्ममै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने विवेकको भनाई छ । निर्देशक मिलन चाम्सले चलचित्रको सिरिजि बनाउने संकेत गरे । आगामी दिनमा पनि चलचित्रमा दर्शकको फ्लो राम्रो भएको खण्डमा चलचित्रको सिरिज पनि बन्न सक्ने उनको भनाई थियो ।

चलचित्र हेरेका अधिकांश दर्शकले यसको संवाद ‘पानी खानु हुन्छ’लाई कण्ठै बनाएको पाइयो । अधिकांश दर्शक ‘पानी खानु हुन्छ’ भन्दै हलबाट निस्किएका थिए । चलचित्रमा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रविन्द्र खड्का, विजय लामा लगायतका कलाकारहरुको पनि अभिनय छ । एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको कथावस्तु, यसको दृश्य, कलाकारहरुको अभिनय र कमेडी पाटोलाई दर्शकले रुचाएका छन् । प्रदीप भारद्धाजले लेखेको चलचित्रलाई सुदिप बरालले खिचेका हुन् ।