चलचित्र हरिबहादुरको जुत्ता बन्ने, हरिवंश र प्रकाशको मुख्य भूमिका रहने

...

काठमाडौँ । नयाँ चलचित्र हरिबहादुरको जुत्ता बन्ने भएको छ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माणको घोषणा गरेका हुन् । चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।

गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो चलचित्र निर्माण गर्न लागेका हुन् । ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा चलचित्र दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् ।

चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो ,’ अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो । चलचित्र निर्माणमा भने ओली पहिलोपटक होमिएका हुन् । हरिवंशले आफुले खोजेजस्तै कन्सेप्ट सुनाएपछि आफु फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए । ‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ तर फिल्म निर्माणको साइत जुरेको थिएन,’ ओलीले भने, ‘राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ । यत्तिकैमा हरिवंश दाईले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो । सुन्नेवित्तिकै मनप¥यो । त्यसपछि उहाँको कन्सेप्टमा फिल्म निर्माण गर्न म तयार भएको हुँ ।’

अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघि सँगै चलचित्रमा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो चलचित्र तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ । ‘म सानैदेखि हरिवंश दाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ,’ प्रकाश भन्छन्, ‘संगीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी काम गर्न पाउँला, सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुशी छु । निर्देशनमा दिपेन्द्र दाईको बेग्लै उचाई छ । यो फिल्म तीन फरक पुस्ताका कलाकर्मीलाई जोडेको छ । पक्कै केही नयाँ र विशेष हुनेछ भन्नेमा म आशावादी छु ।’

चलचित्रको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ । कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन । ‘बाँकी हामी चाँडै खुलाउनेछौं,’ निर्माता ओलीले भने ।