मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा गएको कार्तिक २५ गते देखी मंसिर ५ गतेसम्म चल्ने देवचुली महोत्सवको दशौं दिन चर्चित गायक प्रमोद खरेल र चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तिले आफ्नो प्रस्तुती दिएका छन् ।
बिशेष आकर्षकको रुपमा रहेका प्रमोद र देवीको गीत सुन्नका लागी कावासोतीको खेल मैदानमा चलेको महोत्सवमा शनिबार मात्रै करिब ५० हजार सर्वसाधारणको भिड लागेको थियो । महोत्सव स्थलमा नै दर्शक नअँटाएपछि केहि समय टिकट काउन्टर नै रोक्नु परेको र आजमात्रै करिब १० हजार दर्शक लाई फर्काउनु परेको आयोजक ब्यवस्थापन समितिका अध्यक्ष केबि रानाले आर्टिस्ट खबरलाई जानकारी दिए । उनले अहिले सम्मकै धेरै दर्शक महोत्सवको दशौं दिनमा आएको समेत जानकारी दिए ।
कार्यक्रममा पहिलो प्रस्तुती दिएकी देवी घर्तिले आफ्ना चर्चित गीतहरु जिम्बल बाको आँगनीमा, कोदो रोप्दा लाएको पिरती, लाहुरे दाईले, २ दिनको मायाले लगायतका गीतहरु गाएकी थिइन् ।
साथै प्रमोद खरेलले पनि आफ्नो थुप्रै चर्चित गीतमा हजारौं दर्शक नँचाएका थिए । उनले मेरो दिल छ पोखरामा, चल बतास चल, ओई झुमा लगायतका गीत गाएका थिए ।