चलचित्र ‘रंगी’मा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित

...

काठमाडौं । निर्माण हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘रंगी’को कलाकार छनौटको काम सुरु भएको छ । यसैबिच यो चलचित्रमा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । पुर्व मिस नेपाल नम्रताले यसै चलचित्रबाट रजतपटमा ‘डेब्यू’ गर्दैछिन् । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रको प्रस्तुतकर्तामा सलोन बस्नेत छन् ।

नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले रंगीको स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ । ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन् ।

नम्रताले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतिपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको खुलाइन् । ‘वेब सिरिजमो स्क्रिप्टमा मेरो क्यारेक्टर अलिक कन्ट्रोभर्सियल किसिमको थियो । म अलिक सोझी छु । तर वेब सिरिजको क्यारेक्टर ग्ल्यामर किसिमको भएकाले विवाद आउँछ भनेर मैले काम गरिनँ’ उनले भनिन् ।

‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् ।

यसअघि निर्माण पक्षले चलचित्रले टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । चलचित्रमा सौरभ लामा छायांकारका रुपमा अनुबन्धित भइसकेका छन् ।