बिहीबारबाट रिलिज भएको ‘खुस्मा’ले पहिलोदिन कस्तो गर्यो ब्यापार ?

...

काठमाडौँ । बिहीबार (संविधान दिवसको अवसरबाट) प्रदर्शनमा आएको नेपाली चलचित्र ‘खुस्मा’ आज दोस्रो दिनमा प्रदर्शन भइरहेको छ । चलचित्रले पहिलो दिन सुखद् ब्यापार गरेको निर्माण टिमले जनाएको छ । चलचित्रले बिहीबार अधिकांश हलहरुमा दर्शकको राम्रो साथ पाएपछि विहानैबाट मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । साथै आज (शुक्रबार) पनि कलाकारहरु केहिहलमा पुग्ने बताइएको छ ।

चलचित्रका वितरक गोविन्द शाहीका अनुसार चलचित्रको बिहानी शोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यपारको सुरुवात गरेको थियो । दिउँसोका अधिकांश शोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको भएपनि त्यसमध्येका धेरै शोहरु हाउसफूल भएको बताए । चलचित्रले राम्रो सुरुवात गरेसँगै केही हलले साँझ र रातिका शो समेत बृद्धि गरेको वितरक शाहीको दाबी छ ।

चलचित्रले काठमाडौं उपत्यका र मोफसफका ठुला शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका शहरमा सिनेमाको बिहानी शोबाट नै दर्शकको चाप हलमा देखिएको निर्देशक तथा निर्माता अशोक थापा मगरले बताए ।

चलचित्रको प्रचार सामाग्री ुरुकुम मैकोटु गीत र टिजर तथा ट्रेलरले दर्शकमाझ बनाएको हाइपको फाइदा चलचित्रलाई मिलेको हो । यो गीत अहिले पनि युट्युब ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको शिर्ष स्थानमा छ । योसँगै सिनेमाका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले रुचाएका छन् । सिनेमा हेरेका अधिकांश दर्शकले सशस्त्र द्धन्द्धकालको कथामा आफुलाई पाएको बताएका हुन् । साथै, हरेक नेपालीले हेर्न पर्ने सिनेमा ‘खुस्मा’ बनेको प्रतिक्रिया पनि दर्शकको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्कको संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।