सुगम र रामकृष्णको स्वरमा ‘जीवनको हिसाब’ सार्वजनिक

...

काठमाडौँ । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक गरिएको छ । काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ ।

अष्ट्रेलियाको सिडनीमा आयोजित एक वृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडिओ गायक ढकालले सार्वजनिक गरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडिओमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलिया फिचरिङ छन् ।

भिडीओमा दिलिप रायामाझीले परदेशिएका नेपालीको भौतिक र मानसिक दुखः पीडालाई ज्वलन्तरूपमा प्रस्तुत गरेका छन् । उनी यो गीत आफ्नो जीवनमा समेत धेरै हदसम्म मेल खाएको ठान्छन् । उनले भने, ‘देशको माया त धेरै हुन्छ तर यथार्थमा त्यो मायाले पेट नभर्ने रहेछ, यस्तै पिडामा समाज र परीवारसँग बिछोडिएका नेपाली चाँडो जन्मभूमी फर्केर पुनर्मिलनको वातावरण बनोस् ।’

परदेशिएका नेपालीहरुमा समर्पित गीतमा घर छोडेर परदेशिए पछिको पीडालाई यथार्थपरकरुपमा चित्रण गरेको छ । नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

भिडिओमा घनेन्द्र रसाईलीको निर्देशन, राजेन्द्र विष्टको छायांकन, र सुक कालिकोटेको प्रोडक्सन डिजाइन छ । भिडिओको पोस्ट प्रोडक्सन ड्रागन प्रोडक्सनमा गरिएको छ भने प्रकाशन संयोजन नेपाल म्यूजिक एसोसिएशनका अध्यक्ष तथा साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले गरेका छन्।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रीय नियोग यूएसएड्को मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । गीतकार खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए । ‘यो गीत गायक रामकृष्ण ढकाल कै लागि लेखिएको हो । गायक र संगितकार दुबैले गीतको शब्द र भाबहरुमा पूर्ण न्याय दिनुभएको छ । गीतमा आम दर्शक तथा श्रोताहरुले आफ्नै वा आफ्ना नजिकका मान्छेहरूको कहानी पाउनेछन्’, उनले भने ।

विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहि नेपाल लगायत विभिन्न देशहरुको कार्य अनुभव बटुलेका खड्काले नियमितरुपमा साहित्य र संगीतको क्षेत्रमा कलम चलाउने गरेका छन् । एक दर्जनको हाराहारीमा गीत रेकर्ड गराईसकेका गीतकार खड्काको पछिल्लो गीत ‘तिमी जे बन उदाहरण बन’ को भिडियो एआई प्रविधिमा तयारी पारिएको थियो ।