युट्युबको ट्रेन्डिङ नम्बर २ मा ‘एक्टरः टेक वन’को टिजर

...

काठमाडौँ । चलचित्र ‘एक्टरः टेक वन’ को टिजर सार्वजनिक भएसँगै नेपाली सिनेप्रेमीहरूबीच निकै चासोको विषय बनेको छ । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुने यो चलचित्रको टिजर युट्युबको लागि नेपाल ट्रेन्डिङको नम्बर २ स्थानमा पुगेको छ । टिजरले छोटो समयमा नै व्यापक लोकप्रियता कमाएको हो । यो ट्रेन्डिङले यस चलचित्रप्रति दर्शकको अपेक्षा र उत्सुकता बढ्दै गएको स्पष्ट भएको छ ।

१ मिनेट २० सेकेन्ड लामो टिजरमा प्रदिप खड्का, आना शर्मा, र नवप्रवेशी दिव्या रायमाझीका रोमान्टिक दृश्यहरूलाई प्रस्तुत गरिएको छ भने चलचित्रमा तनावपूर्ण सम्बन्धहरूको चित्रणले थप रहस्य कायम गरेको छ । राजबल्लभको संवादले चलचित्रको कथा कस्तो हुन सक्छ भन्ने जिज्ञासा दर्शकमा बढाएको छ ।

यो चलचित्रको टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको छ, जसले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ । राजबल्लभ कोइरालाले स्टाइलिस लुक्समा इन्ट्री लिएको यो चलचित्रमा उनी १० वर्षपछि पुनः ठूलो पर्दामा फर्किएका छन् ।

दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।

यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह(निर्माता अनिश भुसाल रहेका छन् ।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।