बुद्धि तामाङ भन्छन्, ‘ज्वाइँ साबमा इन्जोय गर्ने ठाउँ प्रशस्त छ’

...

काठमाडौँ । कलाकार बुद्धि तामाङले प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ज्वाइँ साबमा इन्जोय (रमाइलो) गर्ने ठाउँ प्रशस्त रहेको बताएका छन् । उनले यो चलचित्रमा मुख्य पात्रलाई सल्लाह दिने भूमिकामा काम गरेका छन् ।
‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मजा लिन्छन् । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही यो फिल्म हेर्छ भने इन्जोय गर्ने ठाउँ प्रशस्त छ । चलचित्रमा सामाजिक, मनछुने र हँसाउने कथा छ’, बुद्धिले भनेका छन् ।

यही असोज २४ गते फूलपातीको दिन प्रदर्शन हुने चलचित्र ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् । बुद्धिका अनुसार दर्शकले ‘ज्वाइँ साब’मा उनलाई चलचित्रका प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रुपमा हेर्न पाउनेछन् । ‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाईलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ । उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ’, बुद्धि भन्छन् ।

चलचित्रको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् । बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला फिल्म भन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए ।

निर्देशक वसन्त निरौलासँग बुद्धिको चलचित्र ‘होलिडे’ पछि दोस्रो सहकार्य हो । उनले जितुसँग ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरेका छन् । फिल्म ‘कार्साङ’मा पनि बुद्धिले जितुसँग सहकार्य गरेका छन् ।

वसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।