दर्शकको राम्रो प्रतिक्रियाले हलको शो थपिदै गएको छः निर्देशक निरौला

...

काठमाडौँ । गत असोज २४ गते बिहीबार फुलपातीको दिनबाट प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ । अन्य दुई चलचित्र ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रका निर्देशक वसन्त निरौलाले चलचित्र प्रदर्शनको दिन आफ्नो फिल्मको अकुपेन्सी कम भए पनि सोमबारसम्म आइपुग्दा शोको अकुपेन्सी उत्साहजनक रुपमा बढेको बताए । ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी बढेको छ । धेरै हलले शो पनि थपिरहनुभएको छ । फिल्म राम्रो भएपछि दर्शक र शो पनि थपिन्छ भन्ने यो उदाहरण हो’, उनले भने ।
Basant Niraula
चलचित्र हेर्ने अधिकांश दर्शकले प्रमुख कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । चलचित्रमा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाई निर्माण पक्षको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।