काग तिहारमा एकाबिहानै रमेश दुलालले गरे २१ औं काग सम्मेलन

...

काठमाडौं । बिगत २१ बर्षदेखी काग तिहारको दिन काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले यसबर्ष पनि काग सम्मेलन गरेका छन् । काग तिहारको दिन बुधबार बिहान ५ः४५ बजे उनले काठमाडौंको दरबारमार्ग, नारायणहिटी संग्रालय अगाडी सयौं काग भेला पारेर काग सम्मेलन गरेका हुन् ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पतालको सहआयोजनामा सम्पन्न काग सम्मेलन करिब आधा घण्टा चलेको थियो । सयौं कागहरु आकाशमा झुम्मिएका थिए । यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ । यसैअवसरमा मैले पनि बिगत २१ बर्षदेखी यसरी नै कागलाई बोलाएर सम्मेलन गर्ने गरेको छु । रमेशले आर्टिष्ट खबरसँग भने । कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन् ।

kag sammelan, ramesh dulal

सोहीअनुसार कागको स्वभावअनुसार बोलाउँदा काग तिहारको बिहानै कागलाई भेला गर्न सकिएको बताए । दुलालले विगतमा आफूले नाकाबन्दीका विरुद्ध भारतीय दूतावास अगाडिसमेत काग सम्मेलन गरेको स्मरण गर्दै आजको सम्मेलन भने साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले जितोस् भन्ने कामनाका साथ गरिएको बताए ।

kag sammelan, ramesh dulal

रमेशले मुखबाट १०० बढी जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने दावी गर्छन् । दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए । सम्मेलनमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष प्रकाश कटवाललगायतको सहभागिता रहेको थियो । कटुवालले जोकोहिमा कागको आवाज निकाल्न सक्ने कला नहुने र रमेश दुलालमा त्यो अदुभुत कलार भएको भन्दै प्रसंसा गरे ।