कावासोतीको हलमा दर्शक खचाखच, सिंगमलाई पनि पछि पार्यो ‘पूर्ण बहादुरको सारंगीले’

...

कावासोती । नवलपरासी पुर्वको कावासोतीमा रहेको ‘कावासोती सिनेम्याक्स’मा नेपाली चलचित्र हेर्ने दर्शक खचाखच भरिएका छन् । पछिल्लो समय रिलिज भइरहेका नेपाली चलचित्र हेर्ने दर्शक बढेका छन् । तुलनामा हेर्दा हिन्दी भाषाका चलचित्रलाई पनि पछि पार्दै नेपाली चलचित्रले स्थान पाइरहेका छन् ।

यसैबिच अहिले प्रदर्शन भइरहेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ । पछिल्लो तीनदिन यता यो चलचित्रले आक्रमक ब्यापार गरिरहेको छ । चलचित्र प्रदर्शनमा आएसँगै दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाका कारण एकपछि अर्को दिन दर्शकको संख्या बढिरहेको कावासोती सिनेम्याक्सका सन्चालक भरत मल्लले आर्टिष्ट खबरलाई जानकारी दिए । ‘अहिले अनलाइनबाट हलमा सजिलै टिकट काट्न सकिन्छ अघिल्लो दिननै टिकट काटिएको हुन्छ । हलमै आएर टिकट काट्ने कतिपय दर्शक फर्किनुपरेको अवस्था पनि छ ।’ सन्चालक मल्ले भने । ‘पूर्ण बहादुरको सारंगीका लागी पनि दुईदिन अगाडी नै टिकट काट्नुपर्ने अवस्था छ ।’ कावासोती सिनेम्याक्स जिल्लाकै एकमात्र सिनेमा हल भएकाले पनि दर्शकको चाप निकै छ ।

‘सिंगम अगेन’ भन्दा अगाडी, हटाइयो ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’
‘पूर्ण बहादुरको सारंगी’का लागी दर्शकको डिमाण्ड बढ्न थालेपछि शो थपिएको छ । एकमात्र हल भएकाले बिहानै देखी साँझसम्म चारवटा शोमा तिनवटा पूर्ण बहादुरको सारंगीलाई दिइएको छ भने एकवटा शो बलिउड चलचित्र सिंगम अगेनलाई दिइएको छ । पूर्ण बहादुरको सारंगीमा दर्शक बढिरहेको अनुपात हेर्दा शो अझै थप्नुपर्ने अवस्था आउने देखिन्छ ।

यस्तै दशैंको अवसरमा प्रदर्शनमा आएका ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’भने हलबाट उतारिएको छ । यी दुई चलचित्रमा दर्शकको संख्या घट्दै जानु र ‘पूर्ण बहादुरको सारंगी’मा बढ्दै गएपछि ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’को शो हटाइएको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।