काठमाडौं । पञ्चेबाजा गीतको क्षेत्रमा निकै रुचाइएकी गायिका सुशिला गौतमले अर्को पञ्चेबाजा गीत लिएर आएकी छिन । गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाँकन गरिएको ‘गुल्मी चन्द्रकोट’ बोलको गीतमा गायिका सुशिला संगै गायक रेशम निर्दोषको स्वर छ।
सुशिला गौतम युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको शब्द रविन लामिछानेले कोरेका हुन् । इश्वर सिंहले संगीत भरेको गीतलाई एचबीएन किस्मतले संगीत संयोजन, मिक्सिङ, मास्टरिङ गरेका छन् ।
गीतको भिडिओमा बिनोद भण्डारी र सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ । भिडिओलाई भण्डारीले नै निर्देशन गरेका हुन् । दिनेश पराजुलीले छायाँकन गरेको भिडिओलाई मनोज कार्कीले सम्पादन, कलर तथा जीएफएक्सको काम गरेका छन् ।
गुल्मीको चन्द्रकोट, शान्तिपुर, टिमुरे डाँडा, डिब्रुङ देवी मन्दिर लगायतका पर्यटकीय सम्भावना बोकेका ठाउँहरुलाई गीतको शब्दले उजागर गरेको छ । ‘आफ्नै जन्मभूमीलाई सम्झिएर गाएको गीत हो यो,’ गायिका गौतम भन्दै थिइन्, ‘आज सम्मको सांगीतिक जीवनमा सयौँ गीत गाएँ तर यो गीतले मलाई फेरि एकपटक गुल्मी मै पुर्याएको छ ।’ साथै, गुल्मीको पर्यटन प्रवर्धनमा यो गीति भिडिओले एउटा इट्टा थप्ने उनको विश्वास छ । गायिका गौतम गुल्मीको शान्तिपुरमा जन्मिएकी हुन् ।
गायिका सुशिलाका योभन्दा अघिका पन्चेबाजा गीतहरू पनि निकै हिट छन्। उनले विशेषगरी पन्चेबाजामा निकै नै राम्रा राम्रा गीतहरु दिएकी छिन्। सात वर्षअघि खुमन अधिकारीसँग गाएको ‘माइतीको माया’ बोलको गीतलाई युट्युबमा मात्रै ५० लाख पटक हेरिएको छ। यस्तै उनले गायक खुमनसँगै एक वर्षअघि मात्रै सार्वजनिक गरेको अर्को पन्चेबाजा गीतलाई पनि झन्डै ६ लाख पटक हेरिएको छ।