जेठ, (यु.ए.इ.) । भुकम्प पीडित नेपालीको सहयोगार्थ युएईको आवुदावीमा गत शुक्रवार, जुन १२ मा आयोजित विशेष सांगितीक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त च्यारिटी इभेन्टमा तीन हजार भन्दा बढी दर्शकको माझमा करिब एक दर्जन कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । नेपाली राजदुतावासको अगुवाईमा युएईमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा महानायक राजेश हमालको नेतृत्वमा आएको नेपाली कलाकारहरुको समुहले निशुल्क उपस्थिती जनाएका थिए ।
कार्यक्रममा महानायक राजेश हमाल, हमाल पत्नि मधु भट्टराई हमाल, हास्य कलाकार द्धय दिपकराज गिरी र दिपाश्री निरौला, पप तथा लोक गायक तिलक बम मल्ल, लोक तथा दोहोरी गायक गायीका इन्द्र जि.सी., सम्झना लामिछाने, पप गायिका प्रजिता गेलालका साथै अहिलेकी चर्चित पप गायिका आस्था राउत लगायतले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा डि.आई.डि. लिटल च्याम्प सिजन ३ को विजेता तेरिया मगरले पनि आफ्नो प्रस्तुति राखेकी थिईन् । राजदुत धनन्जय झाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा युएईमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमबाट उठेको सम्र्पुण रकम भुकम्प पीडित नेपाली जनताको लागि दुतावासको रहोवरमा प्रधानमन्त्रि राहत कोषमा पठाईने कार्यक्रमका संयोजक कृष्ण भुषालले जानकारी दिएका छन् । कार्यक्रम आयोजक मध्येका एक गायक प्रकाश पौडेलले सोचेभन्दा बढी दर्शकको उपस्थिीतीले कार्यक्रम निकै सफल भएको बताए । चक्र थापा लगायतले सञ्चालन गरेको उक्त कार्यक्रमा बोल्दै महानायक राजेश हमालले नेपालीहरुको यो दुखद घडी भएता पनि यो दुखद घटनाले हामी सबै नेपालीलाई एकताबद्ध भएर देश निर्माणमा अग्रसर हुन प्रेरीत गरेको बताएका थिए । हमालले कार्यक्रममा आफ्नो चर्चित डायलग साथीहरुको लागी यो हात सलाम र दुश्मनहरुको लागि यो हात फलाम भन्दा यो फलामको हात अव देश निर्माणमा प्रयोग गर्न सबैलाई आग्रह समेत गरे ।

उता कलाकार दिपकराज गिरीले कतै १०० कतै २००, ५०० र बढीमा १००० दर्शकको विचमा विदेशमा कार्यक्रम हुन्थ्योे र सो कार्यक्रम कुनै एक समाज या कुनै संस्थाले आयोजना गरेको हुन्थ्यो तर यो यो कार्यक्रम सम्पुर्ण नेपाली जनताले आयोजना गरेको र ३००० भन्दा बढी जनसहभागिता देखेर आफु निकै उत्साहित भएको बताए । गिरीले आफु जुन उद्देश्यका साथ युएईमा कार्यक्रमका निम्ति आएका थिए त्यो पुरा भएकोमा खुसि व्यक्त गरे । गायक तिलक बम मल्लले यो दुखद घटनाले नेपालीको एकताको भाव विश्वमाझ चिनाएको बताए । आफ्नो नृत्यकलासंगै दिपकसंग एकछिन गफिएका दिपाश्री निरौलाले दिपकराज गिरीसंग आफ्नो रेडियोको चर्चित कार्यक्रम धनिया के दुनियाको केही अंश प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रधान गरिन् ।

तेरियाको नृत्यले झुमेका दर्शकहरुलाइृ आस्था राउतले चौवन्दिमा पटुकी गाउन थाल्दा नायक राजेश हमाल स्टेजमै पुगेर नाचेका थिए । उनको प्रस्तुतिसंगै गायक तिकल बम मल्लले ट्याक्सी गुड्यो सरर गीत गाउदै दर्शकको ध्यान आफुमा केन्द्रित गरे । उता लोक पारखि दर्शकहरुलाई भने गायक ईन्द्र जि ।सी र गायीका सम्झना लामिछानेले छमछमी नचाए । पप गायिका प्रजिता गेलालले उमेरै बढ्यो गीतबाट सुरु गरेको सांगितीक कार्यक्रम तिलक बम मल्लको ट्याक्सीमा पोखराको बजार घुम्दै सकिएको थियो ।
– दीपेन्द्र घिमिरे







३१ जेष्ठ २०७२, आईतवार ०५:२७ 











