काठमाडौँ । चर्चित सिरियल ‘सक्कीगोनी’को टिमले बनाएको चलचित्र ‘लाज शरणम’को टिमले पहिलोपटक पोस्टर सार्वजनिक गरेको छ । चलचित्र निर्माण देखी नै चर्चामा थियो । अहिले आएर अंग्रेजी नयाँ बर्षको अवसरमा ३ वटा पोस्टर एकसाथ सार्वजनिक गरिएको छ । जसमा चलचित्रका केहि पात्रहरुलाई देखाइएको छ । चलचित्रमा अर्जुन घिमिरे पाँडेलाई पाँडेकै रुपमा देख्न सकिन्छ । यस्तै सागर लम्साल बले र हरिश निरौला कक्रोज पनि पोस्टरमा छन् । हरिश भने बाबा जीको रुपमा देखिएका छन् । उनीहरुसँगै लोकप्रिय कलाकार बिजय बराल पनि पोस्टरमा देखिएका छन् । उनीहरुले शव बाकसबाट आचर्श भएर हेरिरहेका छन् । अर्को पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति उक्त शव बाकसमाथि उभिएका छन् । हुलिया हेर्दा उनी महेश त्रिपाठीजस्तो देखिन्छ । तर एकिन रुपमा खुलाइएको छैन । अर्को पोस्टरमा हरिश निरौला र बिजय बराल छन् । हरिशको ढाडमा बसेर बिजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ ।
पोस्टरहरूले सम्पत्तिको लोभमा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने कुरा दर्शाउँछन् । चलचित्रका निर्देशक कुमार कट्टेलले गम्भीर सामाजिक कथावस्तुलाई हास्यशैलीमा प्रस्तुत गरिएको बताएका छन् ।
‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । चलचित्र सुदीप बरालले छायाङ्कन गरेका हुन् । नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सृजना खड्का सह–निर्माता रहेको फिल्म नेपालमा ब्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।