काठमाडौँ । आगामी शुक्रबार (पुस २६) गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कार्साङ’को काठमाडौंमा प्रिमियर गरिएको छ । प्रदर्शनको दुईदिन अघि (बुधबार) नै गरिएको प्रिमियरमा केहि चलचित्रकर्मीसँगै सन्चारकर्मीहरुको उपस्थिती थियो । चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्रले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताएका छन् । शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो चलचित्र हेर्नैपर्ने प्रिमियरपछि प्रतिक्रिया दिनेले बताएका छन् ।
चलचित्र हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ुमाग्ने बुढाु, हास्य कलाकार किरण केसी, कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकार प्रिमियरमा पुगेका थिए ।
अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो चलचित्रले देखाउने भन्दै यो बुझ्न र अनुभूत गर्न पनि ‘कार्साङ’ हेर्नुपर्ने प्रतिक्रिया प्रिमियरबाट आएको छ ।
चलचित्र हेरे पछि केदार घिमिरेले ‘कार्साङ’ अत्यन्तै राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए । बिषयवस्तु र अभिनय दुवैको तारिफ पाएकाले दर्शकले चलचित्र मन पराउनेमा निर्माणपक्ष ढुक्क छ ।
बुधबार सिटी सेन्टर काठमाडौंमा आयोजना गरिएको प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिन्थ्यो । शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको सिनेमा हलको वेटिङ कक्षले भिन्न माहोल तयार पारेको थियो ।
पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । प्रिमियरमा भने मुख्य अभिनेता दयाहाङ राई ब्यस्त तालिकाका कारण आउने सकेनन् । जितु नेपाल, दिया मास्के, सिर्जना निङलेखु लगायतका कलाकारहरुको उपस्थिती थियो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।