काठमाडौँ । कवि तथा गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह “कोपिलाको पुकार” लोकार्पण भएको छ । अयोजक संस्था गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा बरिस्ठ गीतकार गजलकार डा।कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गीतिसङ्ग्रह “कोपिलाको पुकार” लोकार्पण गरिएको थियो ।
कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोइरालाले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै स्रष्टाको हकअधिकार र उन्नयनमा सङ्घ अगाडि बढेको बताए । कार्यक्रममा गीतकार सरला श्रेष्ठको गीतका बारेमा बोल्दै गीतकार बीबी थापाले एउटा अब्बल र सरल सिर्जनाको धनी भएको बताए । अनुभवले खारिएको र संघर्षले भरिएको हुँदा सरल र गहिराई बोकेको सर्जक भएको बताए । त्यस्तै कोपिलाको पुकार भित्र रहेका सङ्गीतका बारेमा बोल्दै वरिष्ठ सङ्गीतकार राजु सिंहले मन छुने सङ्गीत सिर्जना भएको बताए ।
कार्यक्रममा सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव बद्री पाण्डे, नेपाल शास्त्रीय सङ्गीत समाजका अध्यक्ष सङ्गीता राना प्रधान, गीतकार सङ्घका पूर्वअध्यक्ष चूडामणि देवकोटाले गीतकार सरला श्रेष्ठको गीतिलेखनमा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार डा।कृष्णहरि बरालले गीतकार सरला श्रेष्ठको बारेमा बोल्दै लेखनमा शुद्धता, सरलता र विशिष्टता पाएको बताए । डा।बरालले गीतकार श्रेष्ठको लेखनमा गहनता र महानता पनि भेटिएको बताए ।
कार्यक्रममा गायिका बबिना भट्टराई र प्रतिज्ञा कुँवरले गीत प्रस्तुत गरेका थिए । एल्बममा लक्ष्मण पोखरेल, बबिना भट्टराई, सरोज पोखरेल, निर्मल दियाली, शंकर थापा स्माइल, नरेन्द्र प्यासीको सङ्गीत रहेको छ भने दीपा झा, बबिना भट्टराई, प्रताप दास, अन्जु पन्त, शिवराज विश्वकर्माको स्वर रहेको छ । कार्यक्रममा कोपिलाको पुकार गीतको भिडियो देखाइएको थियो भने दीपा झाले शुभकामना सन्देश पठाएकी थिइन् । कार्यक्रम गीतकार सुमन पण्डितले सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै गीतकार सङ्घका अध्यक्ष बसन्त बित्यासी थापाले स्रष्टा सर्जकको सिर्जनालाई बाहिर ल्याउन सङ्घको साथ रहने बताए । स्रष्टाको हक अधिकार र बौद्धिक सम्पत्ति संरक्षण गर्न सदैब प्रतिबद्ध रहेको बताए ।