
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का कोच गायक तथा संगीतकार खेम सेन्चुरीले खुट्टाले बजर थिचेपछि सामाजिक सन्जालमा आलोचना खेप्नु परिरहेको छ । यसैबिच द भ्वाइस अफ नेपाल सिजन ५ का कोच गायक राजेश पायल राईले खेम सेन्चुरीलाई गाली नगर्न आग्रह गरेका छन् । खेमले सामाजिक सन्जालमार्फत गाली खाइरहँदा गायक राईले खेमले गलत गरेको छैन भन्दै प्रतिक्रिया दिएका छन् ।
यो भन्दा अगाडी हामीले पनि गरेका थियौं । यो एक साधारण प्रक्रिया हो, यसलाई पहाड बनाउनु हुँदैन । संगीतमा खुट्टा पर्नु हुँदैन भनिन्छ तर ड्रम सेट पनि खुट्टाले नै बजाइन्छ । त्यसैले यसलाई ठुलो कुरा नबनाउँ । राईले मिडियासँग कुरागर्दै भनेका छन् । यहि कुरालाई लिएर खेम भाईलाई गाली नै गर्नु गलत हो ।
गायक राईले यदि खुट्टाले बजर थिच्नु गलत थियो भने द भ्वाइसले त्यो कुरा रोक्ने थियो भनेका छन् । उनी अघि भन्छन्, यदि त्यो कुरा गर्नै हुँदैनथ्यो भने त्यो कुरा भ्वाइस ले नै रोक्थ्यो । त्यो भ्वाइसको नियममै हुन्छ । हामीे पनि यसअघि गरेका थियौं, सायद हाम्रै हेरेर खेमले त्यसो गर्नुभएको पनि होला । उहााँलाई बिरोध नगरौं ।
यतिबेला द भ्वाइस अफ नेपाल सिजन ६ मा खेम सेन्चुरीसँगै, मेलिना राई, उदय सोताङ र राजु लामा कोचको रुपमा रहेका छन् । पाँचौं सिजनमा कोचको रुपमा रहेका राजेश पायल राई र प्रमोद खरेल भने यसपटक द भ्वाइसमा छैनन् ।