
काठमाडौं । लोकप्रिय अभिनेता दयाहाङ राईले प्रदर्शनको तयारीमा रहेको आफ्नो नयाँ फिल्म ‘दुखी आत्मा’ मा आफ्नो पात्रको भूमिका चूनौतीपूर्ण भएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता राईले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चूनौतीपूर्ण बनेको बताएका छन् । उनले भने– ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका कसरी निभाउने भन्ने कुरा नै मेरो चुनौती थियो । यो एडल्ट भन्ने बित्तिकै अर्कै विषयको फिल्म हो की भन्ने खालको सोच आउँछ, यसमा पहिलो चुनौती भनेको मैले यो पात्रलाई न्याय दिन सक्दिन जस्तो लागेकै हो । आजको दिनसम्म हेर्दा पनि मैले जति गरेँ, त्यो पर्याप्त भयो जस्तो लागेको छैन ।’ हाम्रो समाजमा यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु खुला रुपमा वहसमा नआउने हुँदा यो फिल्मले चाहिँ केहि हदसम्म उक्त प्रयास गरेको दयाहाङको भनाइ छ । उनी भन्छन्– ‘ हाम्रो समाजमा शारीरिक स्वास्थ्यपछि भर्खर–भर्खर मात्रै मानसिक स्वास्थ्य र महिलाको प्रजनन स्वास्थ्यको कुरा खुलेर गर्न थालिएको छ । अझै पनि प्रजनन स्वास्थ्यको कुरा महिला–दिदि–बहिनीले खुलेर गर्नु हुँदैन भने यौन स्वास्थ्यको कुरा त कसैले पनि खुलेर गर्नु नै हुन्न । त्यो मैले पनि गर्दिन, तपाईहरुले पनि अहिलेसम्म गर्नु भएको छैन । डाक्टरकहाँ परामर्श लिन जाँदा पनि लुकेर जाने गरिन्छ ।’
‘यो समस्याका बारेमा वहस हुन जरुरी छ, हामीले मानसिक, शारीरिक स्वास्थ्यको विषयमा कुरा गर्छौँ, तर यौन स्वास्थ्यको विषयमा हामी खुला भएर कुरा गर्न सकेका छैनौँ । तर यस बारेमा चर्चा कति को हुनु पर्छ भन्न सक्दिन, तर हुन जरुरी छ । बाहिर कुरा नगरे पनि परिवार, श्रीमान–श्रीमतीबीच भए राम्रो हुन्छ, उनी यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु यो फिल्मले उठान गरेको हुनाले आफूलाई यो फिल्म आफैंले गर्नुपर्छ जस्तो लागेकाले काम गरेको बताउँछन् ।
यसका साथै, दयाहाङले फिल्मको पात्रमा देखिएको समस्या संसारभर ७० प्रतिशत मानिसमा रहेछ भन्दै यो गम्भीर विषय भएको बताए । उनी भन्छन्– ‘फिल्ममा भएको समस्या संसारभर ७० प्रतिशत मान्छेको समस्या रहेछ नी, भनेपछि त यो गम्भीर विषय रहेछ त, तर यसो हेर्दा त सबै मान्छे सामान्य नै देखिन्छन् त । फिल्ममा भएको वस्तु मानिसको चासोको विषय त हो तर सहज रुपमा लिनु हुदैँन । यो स्वभाविक कुरा हो । चासो त छ तर खुलेर कोही पनि कुरा गर्न मान्दैँन् । फिल्ममा अप्ठयारो मान्नु पर्ने दृश्य केही छैन् ।’
पत्रकार सम्मेलनमा अभिनेत्री आँचल शर्माले टीजरमा जति देखाइएको छ, पूरै फिल्ममा त्यति नै रहेको भन्दै ओहो हेर्नै नहुने भन्ने खालको भने नभएको बताइन् । उनी भन्छिन्– ‘हामीले जति ट्रेलर र टीजरमा देखाएका छौँ । त्यति नै हो खास कुरा, ओहो हेर्नै नहुने भन्ने खालको छैन । सबै परिवार हेर्न पनि गाह्रो हुने, अप्ठयारो हुने भन्ने खालको विषयवस्तु भने छैन तर जुन विषय उठाएका छौँ, त्यसले अलिकति अप्ठयारो हुन्छ की भन्ने मात्र हो । यो पुरुषसँग सम्बन्धित कुरा भएको हुनाले मेरो लागि नयाँ विषय हो । दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाहीको शीर्ष भूमिका रहेको फिल्म ‘दुखी आत्मा’ आगामी भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गते अर्थात १४ फेब्रुअरीका दिन प्रदर्शनमा आउँदै छ ।