
काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्न चाहेर पनि नपाएको बताएकी छन् । दुईपटक “पूर्ण बहादुरको सारङ्गी’ हेर्ने समय मिलाए पनि हाउसफुलको करण टिकट नपाएको उनले बताइन् ।
मनिषाले ह्वाइट हाउस लिट्रेचर फेस्टिभलमा वक्ताको रूपमा बोल्दै नेपाली चलचित्र यति धेरै चलेकोप्रति आश्चर्य मानिन् । उनले नेपाली चलचित्रको बजार ठूलो हुँदै गरेको भन्दै भनिन्, “नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पुगिसक्यो । नेपालमा फिल्मको बजार ठूलो बनेको एउटा उदाहरण पूर्णबहादुरको सारङ्गी हो ।”
उनले भनिन्, “बलिउड कलाकारले जस्तै मिहिनेत यहाँ पनि हुन थालेको छ । यही मिहिनेतले निरन्तरता पायो भने नेपाली चलचित्रको बजार फराकिलो हुनेछ ।” साथै सफलता पाउन निरन्तरता र कडा मिहिनेत गर्नु पर्नेमा उनको जोड छ । “मेरो सिकाइ पनि कि गर्ने हो कि मर्ने हो भन्ने हुन्थ्यो,” उनले भनिन् ।