सबै गीत हिट भएपछि शान्तिश्री हर्षित, लेखीन् यस्तो स्ट्याटस्

...

काठमाडौँ । चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ गीत युट्युबमा १०–१० करोडभन्दा बढी पटक हेरिएका छन् । दुई गीत एक दिनको फरकमा १०–१० करोडभन्दा बढी पटक हेरिएपछि यस गीतमा आवाज भर्ने गायिका शान्तिश्री निकै हर्षित छिन् । दुई वटा गीत एक दिनको फरकमा युट्युवमा १०–१० करोड पटक हेरिने सूचीमा प्रवेश गरेपछि गायिका शान्तिश्रीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेकी छन् ।

शान्तिश्रीले लेखेकी छन्, ‘यो मेरो लागि निकै खुसीको कुरा हो । आदरणीय दर्शक स्रोताको अगाध माया पाएका कैयौँ गीतमा मेरो स्वर मिसिएका छन् । यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ । कर्म र भाग्यको संयोग कहीँ न कहीँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ । मैले गाएका केही चलचित्रका गीत पनि बजारमा निकै मन पराइएका छन्, तर ‘रुकुम मैकोट’ मेरो आवाजद्वारा १० करोड पुग्ने पहिलो गीत बनेको छ ।’ गायिका शान्तिश्रीले यो सफलता आफ्नोमात्रै नभएर धेरैको साथ, सहयोग र समर्थनले हासिल भएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘एउटा काम सफल हुन पर्दामा देखिने र पर्दा पछाडिका कैयौं नाम हुन्छन् । ती नामप्रति मेरो सधैँ सम्मान र अन्तर्आत्माबाटै कृतज्ञ छु । यो खुसी यहाँ जोडिनुभएका हरेक नामसँग साट्न चाहन्छु । यति छोटो समयमा यति धेरै हेर्नुहुने, सुन्नुहुने र हरेक चाडवाडमा नाच्नुहुने आदरणीय भगवानरुपी दर्शक–स्रोताज्यूको यो प्रेमप्रति सधैँ नतमस्तक छु ।