चलचित्र शिविर सञ्चालन गर्दै चलचित्र विकास बोर्ड

...

काठमाडौँ । चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । मधेसमा चलचित्रबारे अभिरुचि र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सुदृढ बनाउन शिविर सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

चलचित्र मार्फत समभावको संस्कृति विकास गर्ने लक्ष्यसहित मधेसमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शक रुचिको अध्ययन-सर्वेक्षण गर्ने, मधेसका युवा चलचित्रकर्मीहरूलाई चलचित्र नीति, विधिबारे अभिमुखीकरण गर्ने, मधेसी समाजका मौलिक, नवीन औ उत्कृष्ट कथाहरूको खोजी गर्ने, चलचित्रसँग सम्बन्धी विषय क्षेत्रबारे बहस-विमर्श गर्ने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताएका छन् ।

बोर्डले चलचित्र शिविर अभियान सञ्चालन गर्न बोर्ड सदस्य केएल बुढाथोकीलाई संयोजक तोकेको छ । बोर्ड सदस्य एवं संयोजक बुढाथोकीका अनुसार चलचित्र शिविर अन्तर्गत चलचित्र प्रदर्शन, पोष्टर तथा फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्र सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, संवाद, संगोष्ठी, चलचित्र सम्मेलन जस्ता कार्यक्रमहरू आयोजना गरिनेछ ।