‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक

...

काठमाडौं ।  चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ  ।  ३ मिनेटको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत जानकारी दिन्छ ।अमेरिका जान जहाजतिर दौडिरहेको मुख्य पात्र रेशमको दृश्यसँगै ट्रेलर सुरु हुन्छ र महादेवको चरित्र प्रस्तुत गर्दै समापन हुन्छ । अमेरिका मोहको कथावस्तुमा बनेको फिल्मको ट्रेलर त्यही कथा वरपर घुमेको छ ।

डीभी परेर अमेरिका जाने सपना देखेको रेशमको ‘अमेरिका ड्रीम्स’को कथा यसमा छ । अमेरिका जाने कुरालाई नेपाली समाजले हेर्ने दृष्टिकोण, विवाह र अवरोधको कथा यसमा छ । मुख्य पात्रले अमेरिका जानका लागि गर्ने संघर्ष र हैरानीको कथामा फिल्म बुनिएको छ ।

मंगलबार ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्माता, निर्देशक र कलाकारले फिल्मबारे जानकारी गराएका छन् । शीर्ष कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टले नेपाली समाजमा रहेको अमेरिका मोहको कथालाई फिल्ममा पेश गरिएको जनाए ।

निरोज महर्जनको पटकथा र निर्देशन रहेको फिल्ममा विनय र सुपुष्पासहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल, एवनराज उप्रेतीको अभिनय यसमा छ । ‘फेरि रेशम फिलिली’ फागुन १४ गते महाशिवरात्रीको अवसरमा देशब्यापी प्रदर्शन तयारीमा छ ।