कल्ली’को छायांकन सुरु

...

काठमाडौं । फिल्म ‘कल्ली’को  छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायांकन प्रारम्भ गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ ।

३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । निसाल पौडेलले यो फिल्मको छायांकन गरिरहेका छन् ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।