‘होस्टेल–३’ मा कसरी जोडीए आशिष ?

...

काठमाडौँ ।  फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘होस्टेल–३’ को ट्रेलरले व्यापक चर्चा पाएको छ । फिल्मले युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ । यसका प्रमुख कलाकार मध्ये एक आशिष घिमिरेले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । ६ वर्षको उमेरदेखि उनले लोकप्रिय हाँस्य टेलि सिरियल ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार ५ वर्षसम्म अभिनय गरे । त्यसपछि, उनले ‘सिग्नेचर’ फिल्ममा सन्दिप क्षेत्रीको बाल्यकालको भूमिका निभाए र ‘जुरेली’ नामक सिरियलमा पनि अभिनय गरे । पढाइलाई प्राथमिकता दिन उनले केही समय अभिनयबाट विश्राम लिए र प्लस २ पछि ‘आइटी’ मा ब्याचलर सके ।

यस अवधिमा, उनले केही सिरिज र म्यूजिक भिडियोमा सहायक निर्देशन र लेखन समूहमा काम गरे । ब्याचलर सकेपछि, आशिषले आरोहण गुरुकुल नाटक घरमा अभिनय सिक्न प्रवेश गरे । त्यहाँ उनले  नाटक ‘गच्छामि’ र ‘काल’ नामक नाटकमा अभिनय गरे । ‘होस्टेल ३’ को निर्माण टोलीले ‘शिव’ नामक भूमिकाको लागि अडिसन गरिरहेको बेला, आशिषलाई प्रस्ताव राख्यो ।

स्क्रिप्ट मन परेपछि उनले यो भूमिकामा चासो देखाए । धेरै अडिसनपछि, आशिष नै ‘शिव’ को भूमिकामा फिट हुने देखियो र उनको अभिनय परीक्षण सफल भएपछि उनलाई यो भूमिका दिइएको स्रोतले बताएको छ ।