नेपाल आइडल सिजन–६ घोषणा

...

काठमाडौं । संगीत प्रेमिमाझ लोकप्रिय कार्यक्रम नेपाल आइडलको नयाँ सिजनको घोषणा गरिएको छ। एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन–६ को अडिसन चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ। सम्मेलनमा नयाँ शृंखलाको टिजर पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले लुकेका प्रतिभालाई बाहिर ल्याएर संसारमाझ चिनाउन यो कार्यक्रमले मद्दत गरेको बताए। नेपाली जनतामाझ लोकप्रिय बन्न सफल नेपाल आइडलको नयाँ शृंखला पनि भव्य रूपमा सफल हुने विश्वास व्यक्त गर्दै क्याप्टेन थापाले नेपाल आइडल नयाँ सिजनमा साथ दिने सबै प्रायोजकहरूलाई धन्यवाद व्यक्त गरे। यस्तै एपीवानका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले प्रतिभा भएर पनि अवसर नपाएर युवाहरूलाई प्लेटफर्म दिने काम नेपाल आइडलले गरेको बताए। उनले नयाँ शृंखला सहभागिता लागि अनुरोध पनि गरे।

यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखेको एपीवानका प्रमुख कार्यकारी अधिकृत सुरेश पौडेलले जानकारी दिए। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। ‘यसपटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ,’ पौडेलले कार्यक्रममा बताए।

यस सिजनको निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा आसिफ शाह हुनेछन्।