
काठमाडौं । ‘अभियन्ता’को दबाबपछि टिभी शो ‘कमेडी दरबार’ले गायक कुमा सागरलाई लक्षित गर्दै ब्यंग्य गरिएको भाग हटाएको छ । आफूलाई ‘अभियन्ता’ बताउने केही व्यक्तिले प्रसारण तयारीमा रहेको एपिसोडमा समावेश गायक लक्षित भागलाई काट्नै पर्छ भनेर दबाब दिएको निर्देशक श्रद्धा प्रसाईँले बताएकी छिन् ।
शोले दुई दिनअघि सार्वजनिक गरेको २८ औं एपिसोडको ट्रेलरमा कुमा सागर लक्षित केही कमेडी संवाद समावेश गरिएको देखिएको थियो । सेन्सरपछि शुक्रबार राती ९ बजेदेखि प्रसारण हुने ‘कमेडी दरबार’को नयाँ एपिसोडमा उक्त दृश्य देख्न पाइने छैन ।
कुमा सागरलाई लिएर हालै सुशान्त केसीको पडकास्ट समेत विवादमा परेको थियो । उक्त पडकास्टमा गायक सागरलाई गिज्याएको भन्दै नेवार समुदायका केही व्यक्तिले सुशान्तसहित कमेडी दरबारकै कमेडियन उत्सव सापकोटा, सजन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । यो घटनामा सजन सहितले माफी मागिसकेका छन् ।