‘होस्टेल ३’को ‘राजारानी’ सार्वजनिक

...

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘होस्टेल ३’ को क्लब गीत ‘राजारानी’ सार्वजनिक गरिएको छ । रिलिजको दोस्रो दिन चलचित्रको क्लब गीत सार्वजनिक गरिएको हो । चलचित्र अहिले देशभर प्रदर्शनमा छ । दर्शकसँग साक्षात्कार गर्न कलाकारहरु हल भिजिटमा छन् । किरण माइकलको सङ्गीत रहेको गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर छ । वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मासँगै ‘होस्टेल ३’का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङलगायतको अभिनय छ ।

गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् । सशान कँडेलले निर्देशन गरेको चलचित्रको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सहनिर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता रहेको चलचित्रमा कोसिसराज क्षेत्री लाइन प्रोड्युसर छन् । अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको चलचित्रको सम्पादन विकास दाहालले गरेका हुन् ।