
काठमाडौं । डेढ दशक अघिको सुपरहिट गीत ‘तिमी बिनाको जीवन’को रिमेक भर्सन सार्वजनिक गरिएको छ । अहिले सार्वजनिक गीतमा नरेन्द्र प्यारी र मेलिना राईको स्वर रहेको छ । यसपटक मेलिना राईलाई गायिकाको रुपमा भित्राइएको छ भने अडियोको टिममा अरु यथावत छन् । यस्तै भिडिओका कलाकार पनि परिवर्तन भएका छन् । पहिले भुवन केसी र झरना थापाको अभिनय थियो भने अहिले साईग्रेस पोख्रेल र सुशिला थापाले अभिनय गरेका छन् ।
गीतमा आशिष अविरलको संगीत छ भने आनन्द अधिकारीको शब्द रहेको छ । संगीतकार अबिरलले यस गीतलाई आफ्नो जीन्दगीकै कोसेढुंगाको रुपमा रहेको गीत भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले त्यो समयमा संगीतको बजारमा सिक्दै थिएँ त्यो समयमा बनाएको गीतलाई दर्शक स्रोताले निकै मन पराइदिनुभएको थियो । आज फेरी त्यहि गीतलाई मर्म मर्न नदिएर सोहि गीत रिमेक गरेका छौं । आशा छ अहिलेको गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनुहुनेछ ।’
आशिषले संगीत भरेका दर्जनौं गीत सुपरहिट छन् । उनी पछिल्लो समय फिल्मीगीतहरुमा स्वर दिनमा ब्यस्त छन् । उनले स्वर भनेरका गीतहरु पनि निकै हिट छन् । पछिल्लो समय ‘रैया चाँदीको, काले केटाले, ज्यानमाया सुन त, परान’ लगायतका फिल्मी गीत सुपरहिट छन् । उनको पछिल्लो समय फिल्मका लागी गीत बनाउनका लागी मात्रै नभई गाउनका लागी पनि डिमाण्ड हुने गर्छ ।