‘डोरी’को ट्रेलर सार्वजनिक

...

काठमाडौं । मल्टिस्टारर फिल्म ‘डोरी’को  ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । ट्रेलर हेर्दामा फिल्मको कथावस्तु पैसा र डोरीको वरिपरि घुमेको देख्न सकिन्छ । यी दुई वस्तु वरपर द्वन्द्व र चरित्रले फन्को मारेका छन् । सामाजिक कथावस्तुलाई थ्रीलर र कमेडी शैलीमा बुनिएको फिल्मको पटकथा लेखन र निर्देशन अरुण लामाले गरेका हुन् ।

फिल्ममा अनुभवी र नवप्रवेशी कलाकारको संयोजन छ । जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, वीरेन्द्रसिंह कुशवाहा, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ । लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हो । निर्देशक लामाले ‘डोरी’ ले नेपाली फिल्म क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताए ।

आर्थिक बोझ हल्का गर्न जीवनमा जोखिमपूर्ण निर्णय लिने र दुष्चक्रमा फसेको संघर्षशील युवाको कथामा फिल्म आधारित छ । उनका अनुसार फिल्ममा हाँसो, त्रास र संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिएको छ ।