नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

...

काठमाडौं  । यही चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा चलचित्र समीक्षक सम्पादक रिता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाह लगायत छन् ।

महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजनाअनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवअन्तर्गत नै आगामी शनिबार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत ७ गतेदेखि ११ गते दिनको ४ बजे सम्म खल्ती एप बाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

मार्च २०, २०२५, दिउँसो १ः ३० बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालकको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सुरु हुनेछ । समारोहको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ । महोत्सवको अन्तिम दिन अर्थात चैत ११ गते ४ बजे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथ्यमा अवार्ड वितरण गर्दै महोत्सवको समापन गरिनेछ ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजकले जनाएको छ । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सो सम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ । एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सहभागी हुन ५० बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू नेपाल आउने क्रम सुरु भइसकेको छ ।