
काठमाडौँ । कृति शर्माले म्युजिक भिडिओमार्फत कलाकारितामा डेब्यु गरेकी छिन् । कृति नेपाली चलचित्रका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी हुन् । उनको अभिनय रहेको म्युजिक भिडियो रिटिङ्ग र्याइँ र्याइँ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।
गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले आफुलाई यो म्युजिक भिडिओमा अभिनय गरेर सरप्राइज दिएको बताइन् । उ सिनेमाको पर्दामा भन्दा पनि पर्दा पछाडी काम गर्न रुचाउने मान्छे हो । उसले यसअघि पानीफोटो र रातो टीका निधारमा लगायतका सिनेमामा सहायक निर्देशकको रुपमा काम गरेको थियो । उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए । मेरो सिनेमाबाट नै डेव्यु गराउन तयार थिए,’ निर्देशक शर्माले भने ।
मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडिओमा गायक बसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको शब्द रचना वरिष्ठ गीतकार राजेन्द्र थापाले गरेका हुन् । अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय रहेको छ । डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भाइवस् समेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन् ।
पहिलो पटक म्युजिक भिडिओमा अभिनय गर्दाको अनुभव रमाइलो त भयो नै । त्यससँगै डान्सिङ नम्बर भएकाले नृत्य गर्न केही असहज समेत भएको शर्माले बताइन् । आगामी दिनमा राम्रो म्युजिक भिडिओबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई समेत निरन्तरता दिने सोच उनको छ । त्यससँगै आफ्नो सपना चलचित्र निर्देशन भएकाले त्यसमा पनि उत्तिकै फोकस हुने उनको सोच छ ।
नवराज उप्रेतीले छायांकन गरेको भिडिओलाई अमृत चापागाईले सम्पादन तथा कलर गरेका हुन् ।