
काठमाडौँ । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी एमएसएम भिडियोमा प्रसारण हुने भएको छ । निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले रिलिजको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । निर्देशक अधिकारीका अनुसार सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट प्रसारण हुनेछ । १२ श्रृंखला तयार भएको सिरिज एकसाथ प्रसारणमा आउने भएको हो ।
सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । सिरिजले नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा भन्छ । अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि यसै सिरिज मार्फत अभिनयमा पुनरागमन गर्दैछिन् । अरुणिमाको अलवा सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापालगायतको अभिनय छ ।
सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका हुन् । निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन् । सिरिजको सम्पादन मित्र डी गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ रहेका छन् ।