
काठमाडौं । अभिनेत्री गौमाया गुरुङले आगामी फिल्मको रुपमा ‘अभिमन्यु’ साइन गरेकी छन् । निर्माताले गौमायालाई फिल्ममा अनुबन्धित गरिएको जनाएका छन् । निर्माता विनोद पौडेलले गुरुङलाई महत्वपूर्ण भूमिकामा साइन गरिएको बताए । यद्यपि, उनको भूमिकाबारे खुलाइएको छैन । ‘अभिमन्यु’ साइन गर्ने गुरुङ पहिलो कलाकार हुन् ।
भ्लगरको दुनियाँबाट फिल्ममा डेब्यु गरेकी गुरुङको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ हो । उनी ‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’, ‘राजागञ्ज’जस्ता व्यवसायिक र समीक्षात्मक हिट फिल्मका लागि परिचित छिन् । गौमाया गतवर्ष जर्मनीको प्रतिष्ठित फिल्म फेस्टिभल बर्लिनाले ट्यालेन्टको लागि नेपालबाट छनोट भएकी थिइन् ।‘अभिमन्यु’का बाँकी कलाकार सार्वजनिक गर्ने तयारी छ । पौडेल सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को निर्मातामध्येका एक हुन् ।
‘अभिमन्यु’लाई भदौ २७ गते रिलिज गर्ने तयारी छ । वितरण कम्पनी सेभेन सिज सिनेमाले निर्माण गर्ने बताइएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो फिल्मले पैसाले कसरी मान्छेलाई चक्रब्युहमा पार्छ र त्यहाँबाट मुक्त हुन कसरी संघर्ष गर्छ भन्ने कथावस्तु पेश गर्छ । यो फिल्मलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी छ ।