
काठमाडौँ । वरिष्ठ लोकदोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ‘पानी लिन जाँदा खेरी’ रिलिज गरिएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका खनालले हालै नेपाल आएको बेला उक्त गीत निर्माण गरेका हुन् । गीतमा खनालकै शब्द छ भने स्वरमा उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् । गीतमा सङ्गीत तथा एरेन्ज कमल सौरागको रहेको छ ।
गीतको भिडियोमा कलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता गजित विष्टको अभिनय छ । भिडियोमा गायक खनालको पनि अभिनय देख्न सकिन्छ । सुरेन्द्र बसेलको निर्देशन रहेको गीतमा राकेश दाहालले सम्पादन गरेका हुन् । खनालले ‘पानी लिन जाँदा खेरी’ गीतमा माया प्रेमकै कुरा उठाएका छन् ।
पत्रकारिताको अलावा गायनमा पनि लामो समयदेखि सक्रिय खनालका लोक, आधुनिक, दोहोरी, धार्मिक भजन लगायत गरेर हजार बढी गीत सार्वजनिक भएका छन् ।