
काठमाडौँ । तस्बिरमा झट्ट हेर्दा हाउ भाउ र ड्रेस अपले उनी रक गायिका जस्तै देखिन्छिन् । उनी हुन् गायिका भूमिका शाह ।२०६४ सालबाट गायनमा प्रवेश गरेकी भूमिका यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा यूकेमा रहेकी छिन् । १७ वर्ष अघि गायक राजु परियारसँग एक झ्याउरे गीतमा संयुक्त आवाज भरेर औपचारिक रुपमा गायन प्रारम्भ गरेकी भूमिकाले हाल सम्म झण्डै एक सय हाराहारी गीत गाइसकेकी छिन् । त्यसो त भूमिका गाउने मात्र होइन गीतको रचना र संगीत सिर्जनामा पनि उतिकै सक्रिय छिन् । हालै उनले लेखेको, मेलोडी भरेको र गाएको ‘हेरी रमाइलो’ सार्वजनिक भएको छ । ह्यान्डसम नायक भनेर चिनिएका धिरेन शाक्य र मोडल मन्जु थापाले यो गीतमा अभिनय गरेका छन् । बेला बखत उनी आफूले गाएको गीतमा मोडलिङ पनि गर्छिन् । तर आफूलाई दर्शकमाझ गायिका कै रुपमा चिनिन मन भएको उनले आर्टिष्ट खबरलाई बताईन् ।
चितवनमा जन्मिएकी भूमिका हाल काठमाडौंमा बस्दै आएकी छिन् । बाल्यकालमा बुबाले रोधी बस्ने गरेको र आफूले पनि सानै देखि गीत गुनगुनाउने गरेको ताजै स्मरण उनी सँग छ । अधिकांश लोकगीतमा स्वर मिसाएकी भूमिका लाइभ दोहोरी गाउनमा पनि उत्तिकै माहिर छिन् । तर आफू भाइरल हुन कै लागि समाजमा नकारात्मक प्रभाव पार्ने खालका गिती सिर्जना कहिल्यै नल्याउने वाचा गर्छिन् । डेढ दशकको अवधिमा उनले संगीत क्षेत्रकै लागि ४० देखि ४५ लाख रुपैयाँ लगानी गरिसकेकी छिन् । अहिले एउटा गीत गर्दा ३ देखि ४ लाख रुपैयाँ लगानी लाग्ने उनको भनाई छ । ३ महिना पहिले उनले आफ्नै शब्द, संगीत र स्वरमा ‘आखा मार्यो ’ गीत भूमिका शाह अफिसियल युट्युव च्यानलमा सार्वजनिक गरेकी थिईन् ।
आफूलाई सबै खालका गीत गाउन रुचि भएको बताउने भूमिका यसै क्षेत्रमा अलग्गै पहिचान बनाउन चाहान्छिन् । आफ्नो तर्फबाट राम्रो सिर्जना पस्किन सधै मिहेनत गरेको र यसैको प्रतिफल स्वरुप देश तथा विदेशका विभिन्न कार्यक्रममा आफूलाई प्रस्तुतिका लागि निम्तो आउने गरेको भूमिकाको भनाई छ । यूकेको कार्यक्रम सकेर नेपाल फर्केपछि अर्को नयाँ गीत बजारमा ल्याउने तयारी समेत गरिरहेको गायिका शाहले बताएकी छिन् । चर्चित गायक राजु परियार र खुमन अधिकारीसँग अधिकांश गीतमा सहकार्य भएको बताउने गायिका भूमिका अग्रज अनुज सबैसँग काम गर्न मन भएको बताउछिन् ।