
काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले नाटक घर संचालनमा ल्याउने भएको छ । विश्व रंगमञ्च दिवसको अवसरमा बिहीबार अभिनेता राजेश हमालले निर्माण हुन लागेको थिएटर शिलान्यास गरेका छन् ।
९ वर्षदेखि फिल्म निर्माण र अभिनय विषयमा पठनपाठन गर्दै आएको एकेडेमीले नक्साल गैरीधाराको परिसरमा नाटक घर संचालनमा ल्याउन लागेको हो । फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले थिएटर निर्माण सुरु भएको हो ।
थिएटर सुरुवातसँगै अब फिल्मका विद्यार्थीले एकेडेमीमा थिएटरसम्बन्धी पनि अध्ययन र अभ्यास गर्न पाउने अवसर पाउनेछन् । १४४ सिट क्षमताको थिएटरको निर्माण बैशाखमा सम्पन्न हुने जनाइएको छ । एकेडेमीको अभिनय संकायका विद्यार्थीको लागि नाटक निर्माण र मंचनसँगै अन्य नाट्य समूह र रंगकर्मीलाई मंच प्रदान गरिने जनाइएको छ ।