काठमाडौं। फ्राईडे रिलिज अन्तर्गत आज चैत २२ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ । यो फिल्मको बिहीवारदेखि नै अग्रिम बुकिङ खुला गरिएको थियो । यो फिल्मका हालसम्म सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो फिल्मलाई उच्च शो दिने देखिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले यो फिल्मलाई ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । क्युएफएक्सले ३८ शोसहित देशभर सय भन्दा बढी शो उपलब्ध गराएको छ ।
प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्मको एफक्युब सिनेमाज, बिग मुभिज, वन सिनेमाज, आइएनआई सिनेमाज चेन लगायतका हलले पनि अग्रीम टिकट बुकिङ खुला गरेका थिए । नेपाल र विदेशमा एक साथ भएको ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।







२२ चैत्र २०८१, शुक्रबार १०:११ 








