
काठमाडौँ । नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् ।अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ ।
छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई उनीहरूको क्यारेक्टरमा देख्न सकिन्छ । लामाले यसअघि जियो सिनेमा र हटस्टारमा रिलिज भएको वेबसिरिज ‘निन्जा’मा पनि अभिनय गरेका थिए । वर्षौं लामो मिहेनतपछि चर्चित फिल्मको सिरिजमा अभिनय गर्न पाउनुलाई उनको करिअरका लागि महत्वपूर्ण हुने ठानिएको छ । नेपालीमूलका लामाले सन् २०१३ मा रनवे मोडलको रुपमा करिअर सुरु गरेका थिए ।
फिल्मका कलाकारले सिक्किमका मुख्यमन्त्री प्रेम गोले तामाङलाई समेत भेटेका छन् । मुख्यमन्त्रीले भेटका तस्वीर सार्वजनिक गर्दै छायांकनमा राज्य सरकारले सघाउने प्रतिबद्धता जनाएका छन् । ज्यान्डरकी आमा नेपालको लमजुङकी हुन् । ज्यान्डरले इण्डिया फेसन अवार्डमा ‘मेल मोडल अफ द इयर’को उपाधि जितेका छन् । उनले ल्याक्मे फेसन विक, जीक्यू फेसन आदिमा रनवे नापेका छन् । भोग, जीक्यू, ब्राइड्स, कस्मोपोलिटन, हार्पर्स बजार जस्ता शीर्ष फेसन पत्रिकामा उनले फोटोसुट गराएका छन् । यो फिल्मको प्रदर्शन आगामी अक्टोबर १७ मा हुने जनाइएको छ ।