‘जलाकी’मा सोनम र उपासनाको जोडी

...

काठमाडौँ । यस वर्षको सफल फिल्म ‘खुस्मा’का निर्देशक अशोक थापा मगरले नयाँ फिल्म ‘जलाकी’को छायांकन सुरु गरेका छन् । शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै बाग्लुङको कालिका भगवती मन्दिरबाट छायांकन थालिएको हो । केही दिनअघि पोखराको विन्ध्यवासिनी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको थियो । निर्देशक थापाका अनुसार फिल्मको छायांकन तीन चरणमा गरिनेछ ।

फिल्ममा अभिनेता सोनम तोप्देन र अभिनेत्री उपासना सिंह ठकुरीको जोडी बाँधिएको छ । यो उनीहरुको पहिलो सहकार्य हो । गायक समेत रहेका सोनमले यसअघि ‘सम्हालिन्छ कहिले मन’ र ‘शाम्बाला’मा काम गरेका छन् । ‘जलाकी’ उनको तेस्रो फिल्म हो । यसबाट ‘बार्दली’ गीतको भिडियोमा अभिनय गरेकी आकृति राजभण्डारीले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्ममा अस्तित्व भट्टचन, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतको पनि अभिनय रहनेछ । बाग्लुङ, रुकुम, म्याग्दी, पोखरा र दक्षिण कोरियामा फिल्मको छायांकन हुने निर्देशक थापाले जानकारी दिए ।