टिकेन अरुणिमाको दोस्रो बिहे, हालिन् डिभोर्स मुद्दा

...

काठमाडौं । अमेरिकामा बस्दै आएकी अरुणिमा केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू अभिनीत फिल्म ‘घरस् बट इन अमेरिका’ को प्रमोसनका लागि आएको भनिए पनि खासमा डिभोर्सका लागि आएको खुलेको छ । उनले श्रीमान् युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा हालिसकेको बताएकी छन् । अमेरिकी नागरिक भइसकेको हुँदा नेपालमा अरुणिमाले सिधै मुद्दा लड्न मिल्दैन । त्यसैले वारेसमार्फत मुद्दा दायर गरेको बताइएको छ । सुनसरीका कांग्रेस नेता युवराजले विवाह अगाडि धेरै कुराहरू ढाँटेको अरुणिमाको आरोप छ ।

अरुणिमा र युवराजबीच छोटो समयको चिनजानमा बिहे भएको थियो । गत भदौमा छुट्टी मनाउन नेपाल आएका बेला बेला अरुणिमालाई आफन्तमार्फत युवराजसँग बिहेको प्रस्ताव आएको थियो । केही दिन आपसमा समय बिताएपछि उनीहरूले तत्काल विवाह गर्ने निर्णय लिएका थिए । भदौ ३ गते काठमाडौंको राम मन्दिरमा परम्परागत तवरबाट उनीहरूको विवाह भएको हो । विवाहको केही दिनपछि नै अरुणिमा अमेरिका फर्किइन् । उनी श्रीमानको घरमा भित्रिएकी पनि थिइनन् । युवराजले वैशाखमा श्रीमतीलाई नेपाल बोलाएर घर भित्र्याउने बताइरहेका थिए । तर, बुहारी बनेर भित्रिनै नपाइ अरुणिमाको विवाह टुट्ने संघारमा पुगेको छ ।

युवराजसँग बिहेपछि उनलाई पनि अमेरिका लैजाने योजना अरुणिमाको थियो । युवराज पनि त्यसका लागि खुसीसाथ तयार थिए । तर, आफू अमेरिका फर्किएको केही दिनदेखि नै युवराजको विषयमा नराम्रो कुराहरू सुन्न थालेको अरुणिमाको भनाइ छ । एक अन्तरवार्तामा उनी भन्छिन्, ‘विवाह अगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो । विवाहपछाडि नराम्रो मात्रै सुनियो । उहाँले सबै कुराहरू ढाँट्नुभएको रहेछ । तर, कहिल्यै पनि आफूले ढाँटेको स्वीकार्नुभएन । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ ।’