
काठमाडौँ । कमलपोखरी स्थित सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको विशेष अवसर पारी सञ्चालनमा आएको सिनेमा अभिनेता राजेश हमालले उद्घाटन गरे ।
समारोहमा हमालले आफैँले पनि १८ डी सिनेमाको अनुभव लिए । कार्यक्रममा हमालले १८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएजस्तै महसुस भएको उल्लेख गरे । यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै नभएको उनले बताए । सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन् । फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमामा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास पाउनेछन्।
सञ्चालक गुरुङका अनुसार, यहाँ दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्महरू ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन्।