प्रकाश सपुत लेख्छन् २०८१ मेरो विरुद्धमा शक्तिशाली भएर गयो

...
काठमाडौँ । प्रकाश सपुत लेख्छन् समय शक्तिशाली हुने रहेछ । २०८१ मेरो विरुद्धमा शक्तिशाली भएर गयो । हुन त, अलटाईम बल्कबस्टर पूर्ण बहादुरको सारङ्गीमा म जोडिन पाएँ! “बुझिन मैले“ गित लोकप्रिय भयो । “बसन्त” बनाएर एउटा साँचिएको कथा भन्नु पर्ने थियो, भनियो । चलचित्र सोल्टिनी र हरिहादुरको जुत्तामा काम गरियो । तर केहि ख़राब संयोगहरुले मलाई वेचैन बनाए। उद्देश्य र नियत बिना नै केहि अपजसहरुमा म फँसें। लगातार प्रहार भैरहयो ! आशा छ, २०८२ त्यस्तो हुने छैन । म एक शान्त र भावुक मनुवा हूँ । पेशाले सर्जक कलाकार ! कला, भाषा साहित्य, संगीतमा काम गर्ने भएकाले बहकिनु स्वभाविक हो । त्यसैले मलाई मानिसहरुको संगत गर्न एकदमै डरलाग्छ किनकि मलाई जस्ले पनि बहकाउन सक्छ । आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्छ, जुन कुरा मलाई धेरै पछि मात्रै थाहा हुन्छ । यो वर्ष सामाजिक सन्जालमा निकै आलोचित भएँ। तर पनि ठिक छ । तपाईलाई मेरो गतिविधिहरु देखेर झनक्क रिस उठ्दा गाली गलौज गरे पनि तपाईको मनमा मेरा सिर्जना र म प्रतिको धारणा नकारात्मक छैन भन्नेमा म विश्वस्त छु किनकि मेरो नियत नराम्रो छैन र तपाईको मन नराम्रो छैन ।
तपाईंहरुले बिर्सिनु पो भो कि- मैले अघिल्लो वर्षदेखि जातीय विभेद विरुद्धको वर्ष भनेर काम गरेको थिएँ। त्यसैले यो विचमा लगातार विभेद विरुद्धका केही सिर्जनाहरू गरें । जस्तोकि- जाले रुमाल फाट्यो, दमाई महाराज गीत निकालें, त्यहीं समुदायको पात्र भएर पूर्ण बहादुरको सारङ्गीमा काम गरें र बसन्त बनाएँ। हुन त, म स्वयम् जहाँ उभिन्छु, त्यहाँ विभेद विरुद्दको आवाज़ आफै उठिनै रहन्छ तर अब सिर्जनाको हिसावले आफ्नो पुरानै सिर्जनाहरु जस्तै विभिन्न विषय र शैलीहरुमा काम गर्ने लक्ष्य छ । शुटिङ भएका र हुन बाँकी चलचित्रको काम र प्रदर्शन सकाएर फेरी गीत संगीतमा काम गर्ने छु । निर्देशकका रुपमा बसन्तको कमिकमजोरीहरु सच्याउँदै एउटा अर्को चलचित्र बनाएर फिल्म क्षेत्रको गुण र रिन तिर्नु पनि छ ।
२०८१ मा त मलाई पटक पटक जीवनमा जहाँबाट उठेको हो फेरि त्यहीं खाडलमा जाकिएको महशुस भयो । तर पनि म उभिएको छु किनकि जीवन बाँकी छ, यात्रा बाँकी छ, सपना र ज़िम्मेवारी बाँकी छ, त्यसैले अहिले नै सबै माया र गाली गरेर नसक्नुस् है- अझै राम्रो काम गर्न बाँकी छ । अझै गल्ती गर्न बाँकी छ । २०८१ साल मात्रै सकिएको हो, म सकिएको छैन । थोरै भएपनि म बाँकी नै छु है ! नयाँ वर्ष २०८२ शुभकामना तपाईं सप्पै सप्पैलाई 🎉