
काठमाडौँ । महानायक राजेश हमाल र हास्य कलाकार सन्दीप क्षेत्री लन्डन आइपुगेका छन् । लन्डनमा हुने कमेडी र संगीतको सम्मिश्रण कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि हमाल र क्षेत्री बुधबार राति लन्डन हिथ्रो अवतरण गरेका हुन् । कलाकारद्वयलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डे र डा. रक्षा थापाले स्वागत गरेका थिए ।
माया इभेन्ट्सकै अन्य सदस्यहरू र लन्डनका केही अग्रजले समेत कलाकारहरूलाई स्वागत गरे । लन्डन उत्रिएपछि कलाकारहरूले २७ अप्रिल साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर रमाइलो गर्न सबैमा अपिल गरेका छन् । महानायक हमाल पहिलोपटक स्ट्याण्डअप कमेडीका रूपमा स्टेजमा उत्रनेछन् ।
हमाल, क्षेत्री सहभागी उही स्टेजमा गायक नवीन के भट्टराई र उनको ब्यान्ड अतृप्तले पनि ‘परफर्म’ गर्दैछ । नवीन के र ‘अतृप्त’ का सदस्यहरू भने अप्रिल २५ तारिख बिहान लन्डन उत्रने तय छ । महानायक हमाल ७ मे तथा नवीन के भट्टराई एवं उनका ब्यान्ड सदस्य र सन्दीप क्षेत्री १ मेमा नेपाल फर्कने कार्यक्रम छ ।