
काठमाडौं । चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ को उत्कृष्ट ६ बाट सार्थक लामा बाहिरिएका छन् । उनी कोच मेलिना राईको टिममा थिए । भोटको कमिका कारण उनी उत्कृष्ट ५ मा पर्न सकेनन् ।
शुक्रबार (बैशाख १२) को एपिसोडको लाइभ राउण्डमा अन्तिममा सार्थक र कोच खेम सेन्चुरीको टिमकी इन्द्रकला राई परेका थिए । इन्द्रकला सुरक्षित भइन् भने सार्थक बाहिरिनु पर्यो । बाहिरिएसँगै भ्वाइसको स्टुडियोमा सबै भावुक देखिन्थे । कोच मेलिना राईसँगै अन्य कोचको आँखामा आँशु देखिन्थ्यो ।
बाहिरिदै गर्दा सार्थकले भोट गरेर उत्कृष्ट ६ सम्म पुर्याइदिने सबैलाई धन्यवाद दिए । सार्थक लामा ब्लाइन्ड अडिसनमा कोच राजु लामाको टिममा थिए । पछि कोच मेलिना राईले स्टिल गरेर आफ्नो टिममा लिएकी थिइन् । सार्थक बाहिरिएसँगै अब कोच मेलिनाको टिमबाट रोशन राई फाइनलिस्ट बनेका छन् । उनै उत्कृष्ट ६ बाट बाहिरिएका सार्थक लामाले शुक्रबारको लाइभ राउण्ड सकिने बित्तिकै आर्टिष्ट खबरसँग आफ्नो अनुभव साटेका छन् । भ्वाइस अफ नेपाल सिजन ६ को फिनाले आगामी साता हुँदैछ ।