‘जुठे’बाट बाहिरिए राजु पौडेल (गोथे)

...

काठमाडौं । लोकप्रिय टेलिसिरियल ‘जुठे’को सम्पुर्ण जिम्मेवारीबाट बाहिरिएको राजु पौडेल (गोथे)ले जानकारी दिएका छन् । ‘जुठे’को सुरुवातबाटै लेखन, निर्देशन र अभिनयमा मरिचमान श्रेष्ठ (जुठे)सँग सहकार्य गर्दै आएका राजुले अब सम्पुर्ण जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका हुन् । उनले ‘गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ’ भनेर आफ्नो सामाजिक सन्जालमार्फत औपचारिक जानकारी दिएका छन् ।

राजुले फेसबुकमा लेखेका छन्,
जुठे सिरियलको एक पात्र अझै भनौं। साना साना भाइबहिनीहरूको र बुढाबुढी भएका बा आमाहरूको अनुहारमा हाँसो छर्ने एक पात्र (गोथे)
गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ।
आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारज्यूहरू र भगवान रुपी दर्शकहरुलाई मुरीमुरी धन्यवाद दिन चाहे
जुठेमा गोथे खोज्ने सबै मेरा सानासाना भाइबहिनीहरू र गोथे मन पराउने सम्पूर्ण दर्शकहरुसँग क्षमा माग्न चाहेँ।
किनकि अब जुठेमा गोथे हुने छैन।
आगामी नयाँ भागहरूको लागि जुठे परिवारलाई शुभकामना।

यसअघि बिचमा केहि भाग जुठेको प्रसारण रोकिएको थियो । बुझिए अनुसार राजु र मरिचमान बिचको सम्बन्धमा दरार आएपछि सँगै काम गर्ने अवस्था नभएको हो । जुठे राजु र मरिचमानमा कसले गर्ने भन्नेमा अन्योल थियो र अन्ततः राजुले हात झिकेका छन् भने मरिचमानले जुठेलाई निरन्तरता दिने भएका छन् । साथै आजकै दिनबाट जुठेको छायांकन सुरु भएको भन्दै मरिचमानले पनि जानकारी दिएका छन् । अब जुठेको लेखन, निर्देशन मरिचमानले मात्र गर्नेछन् । अन्य कलाकारहरु भने यथावत रहेका छन् ।

यो सँगै राजु र मरिचमानको बर्षौ देखीको सहकार्य टुटेको छ । राजुले अर्को सिरियल सकस सन्चालन गरिरहेका छन् भने मरिचमानले जुठेसँगै हल्का रमाइलो सन्चालन गरिरहेका छन् ।